काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोल्नेको संख्या बढे पनि कर्जा लिने ग्राहकको संख्या भने निकै न्यून रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंकिङ प्रणालीमा निक्षेप खाताको विस्तार र कर्जा खाताको वृद्धिबीच ठूलो अन्तर देखाएको हो ।

पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको २०८२ असोज मसान्त र २०८३ असोज मसान्तको तथ्यांक तुलना गर्दा निक्षेप खाताको संख्या ६ करोड ६ लाख ९१ हजार ९५६ बाट बढेर ६ करोड ४३ लाख ७० हजार ९८ पुगेको छ । यस अवधिमा निक्षेप खाताको संख्या ३६ लाख ७८ हजार १४२ ले थपिएको छ । यो करिब ६.०६ प्रतिशतको वृद्धि हो ।

ADVERTISEMENT

तर, सोही अवधिमा कर्जा खाताको संख्या भने १९ लाख ९८ हजार ४९१ बाट बढेर २० लाख ५१ हजार ७१० पुगेको छ । अर्थात् एक वर्षमा कर्जा खाताको संख्या जम्मा ५३ हजार २१९ ले मात्रै बढेको छ । यो करिब २.६६ प्रतिशतको वृद्धि हो ।

ADVERTISEMENT

राष्ट्र बैंकको यो तथ्यांकले निक्षेप खाताको वृद्धिदरको तुलनामा कर्जा खाताको वृद्धिदर निकै कमजोर देखाएको छ । यसले बैंकिङ प्रणालीमा निक्षेप संकलनको विस्तार भए पनि कर्जा प्रवाहको विस्तार त्यही अनुपातमा हुन नसकेको देखाउँछ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरू निक्षेप तथा कर्जा दुवै खाता विस्तारमा अगाडि देखिएका छन् । २०८२ असोज मसान्तमा वाणिज्य बैंकमा ५ करोड २० लाख ६० हजार ५५८ निक्षेप खाता रहेकोमा २०८३ असोज मसान्तमा बढेर ५ करोड ५३ लाख ५ हजार ४३१ पुगेको छ । यसअनुसार पछिल्लो एक वर्षमा वाणिज्य बैंकमा मात्र ३२ लाख ४४ हजार ८७३ निक्षेप खाता थपिएका छन् । यो करिब ६.२३ प्रतिशतको वृद्धि हो ।

यसैगरी वाणिज्य बैंकको कर्जा खातासमेत बढेको छ । २०८२ असोज मसान्तमा १६ लाख ६१ हजार ८४४ रहेको कर्जा खाता २०८३ असोज मसान्तमा बढेर १७ लाख ३३ हजार ९९८ पुगेको छ । एक वर्षमा ७२ हजार १५४ कर्जा खाता थपिएका छन् । यो करिब ४.३४ प्रतिशतको वृद्धि हो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय विकास बैंकहरूको अवस्था भने केही फरक देखिएको छ । विकास बैंकमा निक्षेप खाताको संख्या बढे पनि कर्जा खाताको संख्या घटेको छ । २०८२ असोज मसान्तमा ७६ लाख २२५ रहेको निक्षेप खाता २०८३ असोज मसान्तमा बढेर ७९ लाख ६६ हजार ५२४ पुगेको छ । यस अवधिमा ३ लाख ६६ हजार २७१ निक्षेप खाता थपिएका छन् । यो करिब ४.८२ प्रतिशतको वृद्धि हो ।

तर, कर्जा खाताको संख्या भने घटेको छ । २०८२ असोज मसान्तमा २ लाख ६७ हजार ५२७ रहेको कर्जा खाता २०८३ असोज मसान्तमा घटेर २ लाख ६० हजार ८४६ मा झरेको छ । यसअनुसार पछिल्लो एक वर्षमा विकास बैंकहरूमा ६ हजार ६८१ कर्जा खाता घटेका छन् । यो करिब २.५० प्रतिशतको गिरावट हो ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूमा पनि पछिल्लो समय निक्षेप तथा कर्जा खाताको अवस्था फरक देखिएको छ । २०८२ असोज मसान्तमा फाइनान्स कम्पनीहरूमा १० लाख ३१ हजार १४५ निक्षेप खाता रहेकोमा २०८३ असोज मसान्तमा बढेर १० लाख ९७ हजार ५१३ पुगेको छ । एक वर्षमा ६६ हजार ३६८ निक्षेप खाता थपिएका छन् । यो करिब ६.४४ प्रतिशतको वृद्धि हो ।

तर, कर्जा खाताको संख्या भने ६९ हजार १२० बाट घटेर ५६ हजार ८६६ मा झरेको छ । यसअनुसार पछिल्लो एक वर्षमा फाइनान्स कम्पनीहरूमा १२ हजार २५४ कर्जा खाता घटेका छन् । यो करिब १७.७३ प्रतिशतको गिरावट हो ।