काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा देशका नौ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ७१३ युनिट रगत संकलन गरेको छ ।
बैंकले मंसिर ७ गते काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयसहित सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रक्तदानबाट संकलित रगतले आवश्यकतामा परेका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदानलगायत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
वार्षिकोत्सवकै अवसरमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने नौवटा शाखा कार्यालयलाई नगद पुरस्कार र प्रशंसापत्रसहित सम्मान गरेको छ । आयोजित कार्यक्रममा उत्कृष्ट शाखाका प्रमुखहरूलाई सम्मान गरिएको बैंकले जनाएको छ ।
यसअघि मंसिर ५ गते बैंकले ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित तेस्रो संस्करणको ‘गरिमा रोड रेस २०८३’ आयोजना गरेको थियो । काठमाडौंमा सम्पन्न प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावक सहभागी भएका थिए ।
स्वस्थ जीवनशैली, शारीरिक सक्रियता र खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको दौडले सकारात्मक सामाजिक सन्देश प्रवाह गरेको बैंकको विश्वास छ ।
२० वर्षको यात्रा पूरा गरेको अवसरमा बैंकले सेवाग्राही, शेयरधनी, नियामक निकाय, सञ्चार जगत्, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।












