काठमाडौं । नेपाल र भारतबीच सुशासन प्रवर्द्धन, डिजिटल सार्वजनिक पूर्वाधार विकास तथा कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी संयुक्त दस्ताबेजमा दुवै देशबीच सुशासनका क्षेत्रमा बहुआयामिक साझेदारी विस्तार गर्ने उल्लेख गरिएको हो ।
‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ शीर्षकको संयुक्त दस्ताबेजमा डिजिटल प्रविधिको प्रयोगमार्फत नागरिक र सरकारबीचको अन्तरक्रियालाई थप पारदर्शी, सहज र प्रभावकारी बनाउने विषयमा दुवै देशको प्राथमिकता समान रहेको जनाइएको छ ।
सहमतिअनुसार नेपालको डिजिटल नेपाल फ्रेमवर्क प्रभावकारी रूपमा कार्यान्वयन गर्न भारतले प्राविधिक विशेषज्ञता र असल अभ्यास आदानप्रदान गर्नेछ । डिजिटल पहिचान, भुक्तानी प्रणाली र ई–गभर्नेन्सजस्ता डिजिटल सार्वजनिक पूर्वाधारका क्षेत्रमा पनि सहकार्य अघि बढाइनेछ ।
त्यस्तै, नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि भारतको राष्ट्रिय सुशासन केन्द्र (एनसीजीजी) मार्फत तालिम सञ्चालन गरिने भएको छ ।
यसका लागि भारतको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
संयुक्त दस्ताबेजमा नेपाल र भारतका सङ्घीय तथा प्रादेशिक तहका व्यवस्थापिकाबीच अनुभव र असल संसदीय अभ्यास आदानप्रदान गर्ने सहमति पनि समेटिएको छ ।
स्थानीय शासनलाई थप सुदृढ बनाउन भारतका सम्बन्धित निकायहरूमा अध्ययन भ्रमण तथा विशेष तालिम कार्यक्रम सञ्चालन गर्ने सहमति भएको पनि दस्ताबेजमा उल्लेख छ ।












