काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्ताबाट नेपालको भविष्य र द्विपक्षीय सम्बन्धप्रतिको उनको स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता महसुस गरेको बताएका छन् ।

सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले प्रधानमन्त्री शाहको नेतृत्वप्रति सकारात्मक धारणा व्यक्त गर्दै नेपालका नागरिकले दिएको जनादेशलाई नयाँ पुस्ताको आकांक्षासँग जोडेका हुन् ।

ADVERTISEMENT

‘नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु,’ मोदीले भने, ‘नेपालका जनताले जुन ऐतिहासिक जनादेश दिएका छन्, त्यसले नेपालका नयाँ पुस्ताको आकांक्षा देखाउँछ ।’

ADVERTISEMENT

मोदीले नेपालको विकास प्रक्रियामा भारतले निरन्तर साथ दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई अघि बढाउने प्रतिबद्धता जनाए ।

दुई देशबीचको सम्बन्ध थप विस्तार गर्ने विषयमा महत्त्वपूर्ण निर्णय भएको जानकारीसमेत उनले दिए ।

‘भारत एक सशक्त र समृद्ध विकास यात्रामा सधैँ सहभागी हुँदै आएको छ । आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण निर्णय लिएका छौँ,’ मोदीले भने ।

प्रधानमन्त्री शाहसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले नेपालको समृद्धि र द्विपक्षीय सम्बन्धको भविष्यलाई प्राथमिकतामा राख्दै भारतको सहकार्य निरन्तर रहने धारणा राखेका हुन् ।