काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलाबाट प्राप्त निष्कर्षहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न पार्टीका सबै तहका कमिटीलाई निर्देशन दिएका छन् ।

बिहीबार बसेको एमाले केन्द्रीय कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलाले तय गरेका निष्कर्षलाई व्यवहारमा उतार्न आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा जुट्न निर्देशन दिएका हुन् ।

ADVERTISEMENT

उनले पार्टीका दुई तत्कालीन कार्यभार र १५ कामलाई केन्द्रमा राखेर प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूले आ–आफ्नो तहमा आवश्यक योजना बनाउनुपर्नेमा जोड दिए । भेलाबाट पारित विषयहरू निर्णयमा मात्र सीमित नराखी संगठनका सबै तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

ADVERTISEMENT

बैठकमा बाँकी रहेका संगठनात्मक काम तथा कार्यविभाजनसम्बन्धी आवश्यक निर्णय पार्टीको सचिवालय वा स्थायी कमिटीबाट गरिने जानकारीसमेत अध्यक्ष ओलीले गराएका थिए ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार ओलीले केन्द्रीय कमिटीको पाँचौँ बैठक आगामी माघमा राख्ने प्रस्ताव पनि गरेका छन् । उक्त बैठकमा पार्टीका समसामयिक विषयमा विस्तृत छलफल गर्ने प्रस्ताव गरिएको छ ।

बिहीबारको बैठक सम्पन्न भएको छ ।