काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन् ।

रुसको सत्तारुढ दल युनाइटेड रसियाले ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ भन्ने नारासहित आयोजना गरेको सम्मेलनमा विश्वका ७६ देशका विभिन्न राजनीतिक दलका ४८० नेता तथा प्रतिनिधि सहभागी थिए । सम्मेलनमा संयोजक प्रचण्डले दुईपटक सम्बोधन गरेका थिए ।

ADVERTISEMENT

सम्बोधनका क्रममा प्रचण्डले हरेक राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको बताएका थिए । आफ्ना आर्थिक नीति र विकासका प्राथमिकता आफैं तय गर्न स्वतन्त्र नभएसम्म कुनै पनि राष्ट्रको राजनीतिक स्वतन्त्रता पूर्ण हुन नसक्ने उनको भनाइ थियो ।

ADVERTISEMENT

संसार बहुध्रुवीय विश्व व्यवस्थातर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था निर्माण हुनुपर्ने धारणा राखेका थिए ।