काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा प्रमुख रणनीतिकार कुमार ब्यञ्जनकार (कुमार बेन) विरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले बुधबार प्रहरी कार्यालय भद्रकाली पुगेर ब्यञ्जनकारविरुद्ध जाहेरी दिएका हुन् । उनले मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत झुटा प्रमाण बनाउन नहुने कसुरमा अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका ईनम सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि नै ब्यञ्जनकारले आफ्नो ज्वागलस्थित निवासमा दुई दिनसम्म राखेको आरोप लगाइएको छ ।
जाहेरीकर्ताका अनुसार सन् २०२६ अक्टोबर २ अर्थात् २०८३ असोज १६ गते राति सवा ९ बजे अनुसन्धानको घेरामा रहेका सापकोटाका दुवै मोबाइल ब्यञ्जनकारको निवासमा रहेको तथ्य प्रहरीको लोकेसन ट्र्याकिङबाट पुष्टि भएको दाबी गरिएको छ ।
मोबाइल फोन प्रहरीलाई फिर्ता गरिएपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणका क्रममा ह्वाट्सएप र फेसबुकलगायत सामाजिक सञ्जाल अनधिकृत रूपमा चलाइएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको तथा सापकोटा र ब्यञ्जनकारबीच भएका केही महत्त्वपूर्ण सन्देश मेटाइएको विषय जाहेरीमा उल्लेख छ ।
जाहेरीमा राज्यको उच्च सल्लाहकार पदमा रहेको व्यक्तिले प्रहरीको आधिकारिक अनुसन्धान प्रक्रियाबाहिर रहेर अनुसन्धानसँग सम्बन्धित डिजिटल प्रमाणमा पहुँच पुर्याउनु गम्भीर विषय भएको उल्लेख गरिएको छ । यस्तो कार्यले अनुसन्धान प्रभावित पार्नुका साथै प्रमाण नष्ट गर्ने र व्यक्तिको गोपनीयताको हक उल्लङ्घन गर्ने दाबी जाहेरीकर्ताको छ ।
ब्यञ्जनकारमाथि प्रहरी नियन्त्रणमा रहेको डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्याएको, प्रमाण नष्ट गरेको तथा पदीय शक्तिको दुरुपयोग गरी अनुसन्धान प्रभावित पारेको आरोप लगाइएको छ ।
जेनजी मुभमेन्ट नेपालले जाहेरीसाथ आवश्यक प्रमाण तथा सञ्चारमाध्यममा प्रकाशित समाचारसमेत संलग्न गरेको जनाएको छ । संस्थाले मुलुकी अपराध संहिता, सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा प्रचलित कानुनअनुसार निष्पक्ष अनुसन्धान गरी दोषी देखिए हदैसम्मको कानुनी कारबाही गर्न माग गरेको छ ।















