काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनसहितका व्यक्तिमाथि प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोप लगाउँदै प्रहरीमा जाहेरी परेको छ ।

नेपाली कम्युनिष्ट पार्टी निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) का केन्द्रीय सचिव धनबहादुर वलीले बेनसहितविरुद्ध अनुसन्धान र कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा एकैसाथ हुलाकमार्फत जाहेरी पठाएका हुन् ।

ADVERTISEMENT

वली यसअघि सोमबार जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए । तर प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि उनले हुलाकमार्फत पठाएका हुन् ।

ADVERTISEMENT

जाहेरीमा प्रहरी हिरासतमा रहेका झापाका इनम सापकोटाको मोबाइलबाट अनुसन्धानसँग सम्बन्धित प्रमाण मेटाउने र अनुसन्धान प्रभावित पार्ने काममा बेनसहितका व्यक्तिको संलग्नता रहेको आरोप लगाइएको छ । सापकोटामाथि सुरुमा अभद्र व्यवहार र पछि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको थियो ।

वलीले जाहेरीसँगै सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको मोबाइल कहाँ–कहाँ लगिएको थियो भन्ने विवरण र फरेन्सिक ल्याबको परीक्षण रिपोर्टका स्क्रिनसटसमेत संलग्न गरेका छन् ।

जाहेरीमा उल्लेख भएअनुसार, मोबाइल असोज १५ गते दिउँसो ४ः३०ः४५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको थियो ।

त्यसपछि सोही दिन साँझ ५ः१०ः१८ बजे सिंहदरबारको दक्षिण गेटबाट बाहिर निकालेर ५ः२५ः०५ बजे ललितपुरको कुपण्डोलस्थित ज्वागलमा रहेको बेनको घरमा पुर्‍याइएको दाबी गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका विशाल अधिकारी प्रहरीको सोधपुछ कक्षमै पुगेर सापकोटामाथि भइरहेको अनुसन्धानबारे कुराकानी गरेको भिडियोसमेत सार्वजनिक भएको विषय जाहेरीमा उल्लेख छ ।

वलीले प्रधानमन्त्री सचिवालयका चिराग श्रेष्ठ र गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीको समेत संलग्नता रहेको दाबी गर्दै उनीहरूमाथि पनि अनुसन्धान गर्न माग गरेका छन् ।

जाहेरीमा अनुसन्धानका क्रममा रहेका डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्‍याउने, प्रमाण मेटाउने, परिवर्तन गर्ने वा लुकाउने कार्य गरी अनुसन्धान प्रभावित पारिएको आरोप छ । यस्तो कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।

वलीले मुलुकी अपराध संहिता, २०७४ को दफा ९३ उल्लेख गर्दै कसुरदारलाई सजायबाट जोगाउने उद्देश्यले कसुरसम्बन्धी प्रमाण दबाउने, नष्ट गर्ने वा प्रमाणका रूपमा प्रयोग गर्न नसकिने गरी बिगार्ने कार्य दण्डनीय हुने जिकिर गरेका छन् ।

यस्तै, जाहेरीसँगै इनम सापकोटाको मोबाइलको फरेन्सिक ल्याब रिपोर्टका स्क्रिनसट, प्रमाण नष्ट गरिएको भनिएका विवरण तथा अनुसन्धान प्रभावित पार्न प्रधानमन्त्री सचिवालयका कर्मचारी प्रहरी कार्यालय पुगेका तस्बिर र भिडियोसमेत बुझाइएको वलीको दाबी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले भने कानुनसम्मत नदेखिएका जाहेरी प्रहरीले दर्ता नगर्न सक्ने बताएका छन् । प्रहरीमा जाहेरी दर्ता नभए अन्य कानुनी उपाय अपनाउन सकिने उनको भनाइ छ ।

‘प्रहरीकोमा आउने सबै जाहेरी दरखास्त दर्ता हुँदैनन्। त्यसरी दर्ता गर्ने हो भने नेपालका सबैविरुद्ध जाहेरी दर्ता हुन्छ जस्तो लाग्छ, तर कानुनसम्मत देखिएन भने प्रहरीले दर्ता हुँदैन भन्छ,’ थापाले भने, ‘त्यसमा चित्त नबुझे सरकारी वकिल कार्यालय जाने अरू उपाय पनि छन् ।’

सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गर्न निर्देशन दिन सक्ने पनि उनले बताए ।