काठमाडौँ । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो।
सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा निरोसन डिकवेल्लाले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ३७ बलमा सात चौका र दुई छक्का प्रहार गरे।
कप्तान रोहित पौडेलले २१ रन बनाए। उनले २८ बलमा एक चौका प्रहार गरे। तेस्रो विकेटका लागि रोहित र डिकवेल्लाले ३८ रनको साझेदारी गरेका थिए। रोहित थरिन्दु रत्नायकेको बलमा अनिल खरेलबाट क्याच आउट भए।
दीलिप नाथ १० रनमा अविजित रहे। ओपनर डार्सी सर्ट बिना रन स्कट कुग्लेजिनको बलमा बोल्ड भए भने आशिफ शेख चार रनमा हेमन्त धामीको बलमा क्याच आउट भए।
सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए। स्कट कुग्लेजिन र हेमन्त धामीले समान एक विकेट लिए। जारी प्रतियोगितामा सुदूरपश्चिम लुम्बिनीसँग लगातार दोस्रो पटक पराजित भएको हो।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराएको थियो। पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना भने कायमै छ।
उसले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एलिमिनेटर खेलमा बुधबार काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्नेछन्। उक्त खेलको विजेताले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग खेल्नेछ।












