काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि बस्ने पहिलो केन्द्रीय कार्यसमिति बैठक मंसिर ५ गतेपछि मात्रै बस्ने भएको छ ।
महामन्त्री प्रदीप पौडेलले बैठक मंसिर ५ गतेपछि आह्वान गरिने जानकारी दिएका हुन् । उनका अनुसार बैठक बोलाउने मिति र त्यसमा समेटिने एजेण्डाबारे अहिले छलफल भइरहेको छ ।
‘बैठक ५ गतेपछि मात्रै आह्वान हुन्छ । बैठकमा के–के एजेण्डा राख्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ महामन्त्री पौडेलले भने ।
नेपाली कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन नगरी केन्द्रीय महाधिवेशन सम्पन्न गरेको थियो । अब बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट ती दुवै तहका अधिवेशनको मिति तय गर्ने सभापति गगन थापाले यसअघि नै सार्वजनिक रूपमा बताएका छन् ।
छठ पर्वका अवसरमा आफू प्रतिनिधिसभा निर्वाचन लडेको सर्लाही–४ पुगेका सभापति थापाले आइतबार केन्द्रीय कार्यसमिति बैठक बोलाएर जिल्ला तथा प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने बताएका थिए ।
थापाका अनुसार पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने र त्यसको तीन–चार दिनपछि प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने तयारी छ ।












