काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न अनुमति दिएको हो ।

ADVERTISEMENT

प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाउनेछ । बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म भने आयात गर्न पाइने छैन ।

ADVERTISEMENT

अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा माग र आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताए ।

रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमता भएका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यसले पनि आगामी हिउँदमा विद्युत् व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको छ ।

प्राधिकरणको प्रक्षेपणअनुसार पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म आन्तरिक विद्युत् उत्पादनभन्दा माग बढी हुनेछ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर विद्युत् आयात गर्नुपर्ने अनुमान छ ।

त्यस्तै, उच्च माग हुने समयमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको आकलन छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने अनुमान गरिएको छ ।

आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव बढ्दै जाँदा आन्तरिक विद्युत् उत्पादनमा वृद्धि हुने र भारतबाट हुने आयात क्रमशः घट्दै विद्युत् निर्यात पुनः सुरु हुने प्राधिकरणको अपेक्षा छ ।

५६ मेगावाट विद्युत् निर्यात गर्न पनि अनुमति

यसैबीच, प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।

प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म उक्त विद्युत् निर्यात गर्न सक्नेछ । यसले हिउँदमा भारतबाट विद्युत् आयात गर्ने र उत्पादन बढी हुने समयमा निर्यात गर्ने नेपालको मौसमी विद्युत् व्यापारलाई निरन्तरता दिनेछ ।