काठमाडौं। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ९२ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्दै मंगलबार उक्त रकम बराबरको बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार मंगलबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सिस्टम (OBSS) मार्फत बोलकबोल गर्न सकिनेछ। उपकरणको निष्कासन मिति पनि मंसिर १ गते नै तोकिएको छ।
यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडले भाग जाने गरी अधिकतम आह्वान रकम अर्थात् २ खर्ब रुपैयाँसम्म बोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। बोलपत्र छनोट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिइनेछ। समान ब्याजदरमा परेको बोल रकम उपलब्ध आह्वान रकमभन्दा बढी भएमा अनुपातका आधारमा बाँडफाँट गरिनेछ।
निक्षेपको साँवा तथा ब्याज भुक्तानी मिति २०८३ फागुन १ गते तोकिएको छ। यसरी संकलन गरिएको रकम परिपक्व हुनुअघि फिर्ता लिन नपाइने व्यवस्था छ।
राष्ट्र बैंकका अनुसार यस्तो निक्षेपलाई अनिवार्य नगद मौज्दात (सीआरआर ) मा गणना गर्न पाइने छैन। तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ। साथै, यो उपकरण राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ।
राष्ट्र बैंकले यसअघि कात्तिक २७ गते पनि २० दिनका लागि २ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो। उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ९ अर्ब ६० करोड रुपैयाँ बराबरको प्रस्ताव परेको थियो। त्यसबेला भारित औसत ब्याजदर २.४८५ प्रतिशत कायम भएको थियो।












