काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन पार्टीका लागि अनुकूल बन्दै गएको दाबी गरेका छन् ।
नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै ओलीले प्रतिनिधिसभाको अघिल्लो निर्वाचनको तुलनामा आगामी निर्वाचनमा पार्टीका लागि वातावरण अनुकूल रहेको बताएका हुन् । उनले स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा गम्भीरतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
ओलीले स्थानीय तह निर्वाचनलाई स्थानीय सरकार गठनमा मात्रै सीमित गरेर हेर्न नहुने बताए । स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा निर्वाचनका मतदाता हुने भएकाले यसको परिणाम राष्ट्रिय सभा गठनका दृष्टिले पनि महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
त्यस्तै, प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणसँगै राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनका लागि मतभार भएका मतदाता चयन गर्ने उनले बताए । प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता हुने भएकाले आगामी निर्वाचनहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको उनको भनाइ थियो ।
ओलीले स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिए । आगामी दिनमा स्थानीय तह, प्रदेशसभा, राष्ट्रिय सभा तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने भएकाले ती सबैलाई रणनीतिक महत्त्वका साथ लिनुपर्ने उनले बताए ।
‘आगामी निर्वाचनलाई हामीले महत्त्वका साथ लिएका छौँ । हाम्रो लागि अहिले अनुकूल वातावरण पनि छ, विगतको निर्वाचनमा जस्तो अहिले हामीलाई असहज छैन । यद्यपि सरकारको क्रियाकलाप अझै स्वेच्छाचारी नै छ,’ ओलीले भने ।
उनले पार्टीभित्र एकता नहुँदा एमालेले निर्वाचनमा धक्का व्यहोर्नुपरेको पनि बताए । निर्वाचनमा असहयोग गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई वडा तहबाटै कारबाही गर्नुपर्ने उनको निर्देशन थियो ।
अध्यक्ष ओलीले गत फागुनमा भएको निर्वाचनबारे पनि प्रश्न उठाए । उनले उक्त निर्वाचनलाई भदौ २३ र २४ गतेका घटनालाई वैधानिकता दिन राज्यशक्तिको दुरुपयोग गरेर गराइएको आरोप लगाए । निर्वाचनका क्रममा राज्यशक्ति प्रयोग गरी शान्तिपूर्ण रूपमा बुथ कब्जा गरिएको उनको दाबी थियो ।












