काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रतिस्पर्धा तीव्र भएको झापा–५ र सर्लाही–४ क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यी दुई क्षेत्रलाई सम्भावित संवेदनशील निर्वाचन क्षेत्रका रूपमा मूल्यांकन गर्दै सुरक्षा निकायले विशेष रणनीति अपनाएको हो।

प्रहरी स्रोतका अनुसार हेभिवेट नेताहरूबीच प्रतिस्पर्धा हुने भएकाले यी क्षेत्रमा सुरक्षा चुनौती बढ्न सक्ने आकलन गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै अतिरिक्त प्रहरी परिचालन गरिएको छ भने सूचना संकलनका लागि सादा पोशाकमा पनि प्रहरी खटाइएको छ।अहिले थप मद्दतका लागि भन्दै झापामा मात्रै २२ जना सिनियर प्रहरी अधिकृत, अन्य दर्जाका प्रहरी ७५५ गरी ७७८ जना खटाइएको छ । यो बाहेक प्रहरी मातहत नै रहने गरी निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र निर्वाचन प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन छ ।त्यस्तै थप मद्दतका लागि भन्दै सर्लाहीमा मात्रै सिनियर प्रहरी अधिकृत मात्रै २५ जना खटाइएको छ । जुनियर प्रहरी अधिकृत ११९ जना र अन्य दर्जाका प्रहरी ६४८ जना गरी ७९२ जना खटाइएको छ ।
प्रहरी प्रधान कार्यालयले मातहतका इकाइहरूलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएको जनाएको छ। विशेषगरी निर्वाचन अवधिमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षालाई थप मजबुत बनाइएको हो।

झापा जिल्लामा मात्रै सयौँ प्रहरी परिचालन गरिएको छ भने सिनियर प्रहरी अधिकृतसहित ठूलो संख्यामा सुरक्षा कर्मी खटाइएको छ। त्यसैगरी सर्लाहीमा पनि अतिरिक्त प्रहरी जनशक्ति थपेर सुरक्षा व्यवस्थालाई बलियो बनाइएको छ।

नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मी पनि निर्वाचन सुरक्षाका लागि परिचालन भएका छन्। सुरक्षा निकायले उम्मेदवार तथा निर्वाचन गतिविधिमाथि निगरानी बढाएको र मौन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधिलाई रोक्न विशेष ध्यान दिइएको जनाएको छ।








