काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनबाट कुनै पनि दलको स्पष्ट बहुमत नआउने दाबी गरेका छन्।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एकल पार्टीको सरकार बन्ने सम्भावना कमजोर रहेको उल्लेख गरे। “निर्वाचनबाट एकल पार्टीको बहुमत आउने सम्भावना छैन। फेरि पनि हङ पार्लियामेन्ट हुन्छ, त्रिशंकु संसद बन्छ,” उनले भने।
दाहालले यसपटकको निर्वाचनमा मुख्यतः चार राजनीतिक शक्तिबीच प्रतिस्पर्धा हुने बताए। बदलिँदो राजनीतिक समीकरण र मतदाताको झुकावका कारण परिणाम बहुमतको पक्षमा नजाने उनको विश्लेषण छ।
उनले आफ्नो पार्टीले प्रभावकारी रूपमा चुनावी अभियान सञ्चालन गर्न सके अग्रस्थान हासिल गर्ने सम्भावना रहेको पनि बताए। “मिहिनेत गर्दा हाम्रो पार्टी अगाडि आउने सम्भावना छ,” उनले भने।
राजनीतिक स्थिरता र सरकार गठनको समीकरण फेरि पनि दलहरूबीचको सहमतिमा निर्भर रहने संकेत गर्दै दाहालले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन्।








