काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज भाइटीका लगाएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाएका हुन्। राष्ट्रपति सचिवालयका अनुसार टीका लगाएपछि बहिनी शारदाले उनलाई ओखर, बदामलगायत फलफूल र सौगात प्रदान गरेकी थिइन्।
त्यस अवसरमा राष्ट्रपति पौडेलले पनि बहिनीलाई टीका लगाइदिएर उपहार तथा दक्षिणा प्रदान गरेका थिए।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समयलाई उत्तम साइत तोकेको थियो।
यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा छ।












