काठमाडौँ । तिहारको मुख्य दिन भाइटीकाकै अवसरमा बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन र असिनासहित वर्षा भएको छ।

दिउँसोपछि एक्कासि मौसममा परिवर्तन आएर वर्षा सुरु हुँदा भाइटीका लगाउन आवतजावत गरिरहेका सर्वसाधारण प्रभावित भएका छन्।

ADVERTISEMENT

उपत्यकाका बुढानीलकण्ठ, कपन, काँडाघारी, गौशाला र चाबहिललगायतका स्थानमा असिनासहित वर्षा भएको हो। वर्षाका कारण टीका लगाउन दिदीबहिनी तथा दाजुभाइका घर जानेहरूलाई आवतजावतमा कठिनाइ भएको छ।

ADVERTISEMENT

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यही मौसमी प्रणालीका कारण काठमाडौँसहित पहाडी भूभागमा बदली र वर्षा भएको हो।

महाशाखाले बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

त्यस्तै, अन्य पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बदली रहने र बाँकी तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।