काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमा मात्र सीमित नराखी समग्र काठमाडौँलाई २४सै घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ।
ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले यस विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए।
उनले ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार लागिरहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि नियन्त्रणका लागि घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताए। ठमेलका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा मासिक बैठक गर्ने प्रस्तावसमेत उनले राखे।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, फोहोर, ट्राफिक जाम र मगन्तेलगायत समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य भइरहेको बताए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले स्थानीय र व्यवसायी ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन तयार भए ट्राफिक प्रहरीले सहयोग गर्ने बताए। उनले जथाभावी पार्किङ गर्नेलाई कारबाही गरिने पनि स्पष्ट पारे।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले ठमेललाई सुरक्षित बनाउन घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताए।
परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले २०८१ वैशाख १ गतेदेखि लागू गरिएको ठमेललाई २४ घण्टा सञ्चालन गर्ने आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
छलफलमा घरधनी तथा व्यवसायीले रातिको समयमा आवतजावतमा कठिनाइ, लागुऔषध कारोबार तथा सेवन, फोहोर, अव्यवस्थित पार्किङ र ढलका कारण सातघुम्तीमा पानी जम्ने समस्याबारे ध्यानाकर्षण गराएका थिए।
परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको पर्यटन विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए। विसं २०४८ मा स्थापना भएको परिषद्ले ठमेलको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको महासचिव पशुपति कँडेलले जानकारी दिए।










