काठमाडौं । नेपाल मेडिकल काउन्सिल ले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय हालका लागि स्थगित गरेको छ। काउन्सिलले यसअघि दुई चरणमा गरी ३६ जना गैरआवासीय चिकित्सकको नाम दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो।
तर उक्त निर्णयको विभिन्न क्षेत्रबाट विरोध भएपछि वैशाख २९ गते बसेको काउन्सिलको पूर्ण बैठकले हालका लागि उनीहरूको नाम दर्ता किताबमै कायम राख्ने निर्णय गरेको हो।
यसअघि नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका १९ जना चिकित्सकको नाम दर्ता खारेज गर्ने निर्णय गरेको थियो। त्यसपछि थप चिकित्सकको नाम पनि खारेजी प्रक्रियामा परेको थियो।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार अब विश्वभर रहेका गैरआवासीय नेपाली चिकित्सकलाई पुनः दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरिनेछ।
काउन्सिलको पछिल्लो निर्णयलाई गैरआवासीय नेपाली चिकित्सकमाथिको कारबाही तत्कालका लागि रोकिएको जनाएको छ।








