काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गर्दै भवन निर्माणको औपचारिक सुरुवात गरेका हुन्।

करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने भवनमा दुई तला भूमिगत पार्किङ, एउटा ग्राउन्ड फ्लोर र माथि नौ तला रहनेछन्। वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधिसहित भवन निर्माण गर्न लागिएको बैंकले जनाएको छ।

ADVERTISEMENT

भूमिपूजापछि अध्यक्ष ढकालले यो भवन वाणिज्य बैंकहरूको कर्पोरेट कार्यालयमध्ये आधुनिक र ठूलो संरचनाका रूपमा निर्माण हुने बताए। नयाँ भवनले बैंकका सेवाग्राहीलाई थप सहज, प्रविधिमैत्री र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ छ।

ADVERTISEMENT

प्रमुख कार्यकारी अधिकृत रेग्मीका अनुसार भवन निर्माणमा सेवाग्राही र कर्मचारीको सुविधालाई प्राथमिकता दिइएको छ। भवनमा ऊर्जा बचत प्रणाली, आकाशे पानी संकलन तथा प्रशोधन र विद्युत् खपत घटाउन सौर्य ऊर्जा प्रणाली जडान गरिनेछ।

बैंकका अनुसार ग्लोबल आइएमई बैंकले हाल मुलुकका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको छ। बैंकका ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालय सञ्चालनमा छन्।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, मलेसिया, भारत, साउदी अरब, कतार र यूएईलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको छ।