काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता हुने वा नहुनेबारे आज टुंगो लाग्ने भएको छ।
सर्वोच्च अदालत प्रशासनले बिहीबार रिट अध्ययनका लागि राखेको थियो। अध्ययन पूरा नभएकाले बिहीबार दर्ता हुन नसकेको कार्कीनिकट अधिवक्ता टीकाबहादुर कुँवरले जानकारी दिएका छन्।
सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि कार्की सर्वोच्च अदालत पुगेका थिए।
मन्त्रिपरिषद्को निर्णयअनुसार डा. केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।
कार्कीको रिट शुक्रबार दर्ता भए पनि तिहार बिदापछि मात्रै त्यसको प्रारम्भिक सुनुवाइ हुने सम्भावना रहेको छ।










