काठमाडौं । तिहार, दीपावली, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार पर्वलक्षित सुरक्षा कार्ययोजना तयार गरी देशभर कार्यान्वयनमा ल्याइएको छ। सम्भावित सुरक्षा चुनौतीको पहिचान र विश्लेषण गरी जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी तथा प्रहरी परिचालन बढाइएको उनले बताए।

ADVERTISEMENT

प्रहरीले जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, होहल्ला, झैझगडा, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट र आगलागीजस्ता गतिविधिलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको छ।

ADVERTISEMENT

सुरक्षा निगरानीका लागि सीसीटीभी, बडीओर्न क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुर प्रयोग गरिने प्रहरीले जनाएको छ। पटका तथा विस्फोटक पदार्थको अवैध आयात रोक्न सीमा नाका र भन्सार क्षेत्रमा निगरानी कडा पारिएको छ।

देशभर चेकपोइन्ट स्थापना, आकस्मिक जाँच, गस्ती तथा पेट्रोलिङ बढाइएको छ। भीडभाड हुने बजार, मेला र सार्वजनिक स्थानमा विशेष निगरानी राखिएको छ भने जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

देउसीभैलो कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय प्रशासनसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले बताए। उनका अनुसार सुरक्षा योजना छठ पर्वको भोलिपल्टसम्म लागू हुनेछ।

यात्रु तथा सवारी सुरक्षामा विशेष निगरानी

चाडपर्वका बेला हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले चालकको लापरबाही, मादक पदार्थ तथा लागूऔषध सेवन र सवारीसाधनको अवस्थामाथि निगरानी बढाएको छ। यात्रुको सहजताका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

लामो दूरीका यात्रुवाहक सवारीसाधन छुट्ने स्थानमै चालकको अनुमतिपत्र तथा मादक पदार्थ र लागूऔषध सेवनको अवस्था जाँच गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण र लामो दूरीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्थाको कार्यान्वयनमा समेत निगरानी गरिनेछ।

सीमा क्षेत्रबाट स्वदेश फर्किने नेपाली नागरिक ठगी, लुटपाट तथा दुर्व्यवहारमा नपरून् भन्ने उद्देश्यले १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।

कालोबजारी र खाद्य मिसावटविरुद्ध संयुक्त अनुगमन

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने तथा म्याद गुज्रिएका र गुणस्तरहीन सामग्री बिक्री गर्ने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ।

आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायसँग समन्वय गरी संयुक्त बजार अनुगमन भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए।

मिठाई, फूलमाला तथा पूजासामग्री बिक्री हुने स्थान र भण्डारण केन्द्रमा समेत निगरानी बढाइएको छ। प्रहरीले पटका, भुइँचम्पा, झिरझिरेलगायत विस्फोटक पदार्थको प्रयोग नियन्त्रणलाई प्राथमिकतामा राखेको छ।

यस्ता पदार्थको प्रयोगबाट आगलागी, आँखामा चोट, श्रवणशक्तिमा क्षति तथा अन्य दुर्घटना हुन सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई पटका नपड्काउन आग्रह गरेको छ। अवैध आयात तथा ओसारपसार रोक्न सीमा क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।

आगलागी रोक्न सतर्कता अपनाउन आग्रह

लक्ष्मीपूजाका क्रममा दियो, मैनबत्ती तथा अन्य प्रज्वलनशील सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। दियो तथा मैनबत्ती बालेर नछाड्न, बालबालिकालाई आगो र विस्फोटक पदार्थबाट टाढा राख्न तथा विद्युत् उपकरण र तारको अवस्था जाँच गर्न प्रहरीले अनुरोध गरेको छ।

सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि प्रहरीका क्विक रेस्पोन्स टिम (क्यूआरटी), सिआरभी तथा विपद् व्यवस्थापनका जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रवक्ता काफ्लेले बताए।

प्रहरीले गुणस्तरहीन विद्युत् सामग्री प्रयोग नगर्न र आगो सल्किन सक्ने पर्दा, कपडा तथा अन्य वस्तुको नजिक दियो वा मैनबत्ती नराख्न पनि आग्रह गरेको छ।

शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा चाडपर्व मनाउन आग्रह गर्दै प्रहरीले कुनै पनि शंकास्पद गतिविधि, दुर्व्यवहार वा आपराधिक क्रियाकलाप देखिएमा प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न अनुरोध गरेको छ।