काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। अघिल्लो दिन ६.६२ अंक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार १.४० अंकले बढेर २ हजार ६६५ अंकमा पुगेको छ।
बजारमा परिसूचक सामान्य बढे पनि कारोबार रकममा भने वृद्धि भएको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ।
आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत रूपमा अन्य समूह सबैभन्दा धेरै ६.१८ प्रतिशत बढेको छ। नेपाल पुनर्बिमा कम्पनीले हकप्रद सेयर जारी गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भएपछि यसको सेयर मूल्य १५ प्रतिशत बढेको छ। त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको मूल्य पनि ११.४८ प्रतिशतले बढेको छ।
अन्य समूहसँगै व्यापार समूह १.११ प्रतिशत र जीवन बीमा समूह ०.१० प्रतिशत बढेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा समूह भने घटेका छन्।
बुधबार स्वेतगंगा हाइड्रोपावर, घोराही सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र ग्लोबल आईएमई बैंक सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।










