काठमाडौं । चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि कात्तिक १६ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरो, सर्पदंश, आगलागी, बाढी, चट्याङ, हावाहुरी, भारी वर्षा, जनावरको आक्रमण, वन डढेलो, हिउँपहिरो, भूकम्पलगायतका विपद् भएका हुन्।

ADVERTISEMENT

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार सबैभन्दा धेरै पहिरोका एक हजार ७३५ घटना भएका छन्। त्यस्तै, सर्पदंशका एक हजार ६६८, आगलागीका एक हजार ६४१, भारी वर्षाका ५९३, हावाहुरीका ५३७, बाढीका ४६६, जनावरको आक्रमणका ४१७ र चट्याङका ३३३ घटना भएका छन्।

ADVERTISEMENT

यसैगरी वन डढेलोका १९२, लेक लाग्नेका ७९, हिउँपहिरोका छ, भूकम्पका नौ, असिनाका चार, डुङ्गा पल्टिनेका दुई, विस्फोटनको एक र अन्य पाँच घटना भएका छन्।

विपद्का कारण सबैभन्दा धेरै सर्पदंशबाट ११६ जनाको मृत्यु भएको छ। पहिरोबाट ७७, बाढीबाट ४१, चट्याङबाट ३६, आगलागीबाट ३२, लेक लागेर २७, जनावरको आक्रमणबाट २३, हिउँपहिरोबाट १९, हावाहुरीबाट १६, भारी वर्षाबाट सात, डुङ्गा पल्टिएर पाँच तथा वन डढेलो र विस्फोटनबाट एक–एक जनाको मृत्यु भएको छ। अन्य घटनामा पाँच जनाले ज्यान गुमाएका छन्।

प्राधिकरणको तथ्यांकअनुसार विपद्का घटनामा परी हालसम्म दुई हजार ५२९ जना घाइते भएका छन् भने नौ हजार ८५७ परिवार विस्थापित भएका छन्।

तर, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको विस्तृत क्षतिको विवरण प्रणालीमा समावेश गर्न बाँकी रहेकाले उक्त घटनाको विवरण यस तथ्यांकमा समेटिएको छैन। त्यसैले वास्तविक क्षति योभन्दा बढी हुन सक्नेछ।