सुनसरी । नेपाली सेनाले आगामी मङ्सिर १४ गते सुनसरीमा भूतपूर्व सैनिक सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनको तयारी पूर्वी पृतना हेडक्वार्टर इटहरी ब्यारेकमा भइरहेको छ।नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सम्मेलन आयोजना हुन लागेको पूर्वी पृतना हेडक्वार्टर इटहरीले जनाएको छ।
सुनसरी जिल्लामा बसोबास गरी जिल्लाका विभिन्न बैंकबाट पेन्सन बुझिरहेका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरण प्राप्त गरिरहेका व्यक्तिलाई सम्मेलनमा सहभागी हुन आग्रह गरिएको छ।सम्मेलनमा सहभागी हुन इच्छुकले नेपाली सेनाको कल्याणकारी बोर्डको वेबसाइटमार्फत आगामी कात्तिक ३० गतेसम्म अनलाइन दर्ता गर्न सक्नेछन्।
सम्मेलनका अवसरमा ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलालाई सम्मान गरिनेछ। त्यस्तै, उत्कृष्ट लघु उद्यम व्यवसायीलाई पुरस्कार प्रदान गर्नुका साथै अशक्त आश्रितलाई आवश्यकताअनुसार ह्विलचेयर र वैशाखी वितरण गरिने कार्यक्रम रहेको सेनाले जनाएको छ।
सम्मेलनमा सहभागी हुन पेन्सनपट्टावाला स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। तर, शारीरिक अशक्तताका कारण स्वयं उपस्थित हुन नसक्ने व्यक्तिले आवश्यक प्रमाण पेस गरेमा उनकी श्रीमतीले पेन्सनपट्टा लिएर सम्मेलनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।









