काठमाडौं । पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र कमजोर भएसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्रै रहेकाले मौसममा सुधार हुने सम्भावना छ।
हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति पनि देशभर आंशिक बदली रहने पूर्वानुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार बिहान र दिउँसो पनि देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। सोमबार राति भने गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।









