काठमाडौँ । नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ ले नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारण सभामा उक्त प्रस्ताव अघि बढाइएको जानकारी दिएका हुन्।
शुक्रबारदेखि काठमाडौँमा सुरु भएको यूआईएको साधारण सभा शनिबार सम्पन्न हुनेछ। मन्त्री पौडेलका अनुसार नेपालले यालुङ काङ, कञ्चनजंघा दक्षिण, कञ्चनजंघा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ।
प्रस्तावित हिमालमध्ये यालुङ काङ ८ हजार ५०५ मिटर, कञ्चनजंघा दक्षिण ८ हजार ४७६ मिटर, कञ्चनजंघा मध्य ८ हजार ४७३ मिटर, ल्होत्से मध्य ८ हजार ४१० मिटर, ल्होत्से शार ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिम ८ हजार ७७ मिटर अग्ला छन्।
नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ। त्यस्तै, नेपालमा मात्रै यस्ता हिमालको संख्या आठबाट बढेर १४ पुग्नेछ। यसअनुसार विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमा पर्नेछन्।
नेपाल पर्वतारोहण संघको आतिथ्यमा भइरहेको सम्मेलनमा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी छन्। नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि यूआईएको साधारण सभा आयोजना गरेको थियो।
मन्त्री पौडेलले प्रस्तावित हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन सके नेपालको पर्वतीय पहिचान थप विस्तार हुनुका साथै पर्वतारोहण, साहसिक पर्यटन, हिमाली अनुसन्धान र पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना खुल्ने विश्वास व्यक्त गरेका छन्।
उनले नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नसमेत यसले सहयोग पुग्ने बताएका छन्।
सम्मेलनमा हिमालको अन्तर्राष्ट्रिय पहिचान र वर्गीकरणसँगै जलवायु परिवर्तनका कारण बढ्दो हिमाली जोखिम, प्राकृतिक सम्पदाको संरक्षण तथा पर्वतीय समुदायको जीविकोपार्जनका विषयमा पनि छलफल भइरहेको छ।








