काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरभित्रका पर्यटकीयस्थलमा आवागमन सहज बनाउन विद्युतीय सटल बस सञ्चालन गर्ने भएको छ ।
महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार पर्यटकसँगै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा बालबालिकालाई पर्यटकीयस्थलमा सहज रूपमा भ्रमण गराउने उद्देश्यले सटल बस सञ्चालन गर्न लागिएको हो ।
उनका अनुसार हाल १६ सिट क्षमताका पाँचवटा विद्युतीय सवारीसाधनको व्यवस्था गरिएको छ । महानगरले विभिन्न पर्यटकीयस्थललाई आपसमा जोड्दै विद्युतीय सवारीमार्फत सहज, सुरक्षित र वातावरणमैत्री यातायात सेवा उपलब्ध गराउने तयारी गरेको छ ।






