सोलुखुम्बु । हिउँको ठूलो ढिस्को (सर्याक) ले बाटो अवरुद्ध भएपछि सगरमाथा आरोहण अभियान प्रभावित भएको छ । आधार शिविर (बेस क्याम्प) र क्याम्प वानबीचको मार्ग पूर्ण रूपमा बन्द हुँदा एक हजारभन्दा बढी आरोहण दलका सदस्यहरू आधार शिविरमै रोकिएका छन् ।
बाटो खुलाउन ‘आइसफल डाक्टर’हरूको टोलीले एक सातादेखि निरन्तर प्रयास गरिरहेको भए पनि सफलता मिल्न सकेको छैन । विशाल हिउँको ढिस्कोका कारण कुनै पनि आरोहण दल अघि बढ्न नसकेको आधार शिविरमा रहेका सदस्यहरूले बताएका छन् ।
यस अवरोधका कारण चिनियाँ, अमेरिकी, युरोपियन तथा नेपाली सबै आरोहण दल प्रभावित भएका छन् । नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) तथा पर्वतारोहण सञ्चालक संघले संयुक्त रूपमा आइसफल डाक्टरको सहयोगमा बाटो खुलाउने प्रयास जारी राखेका छन् ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाका अनुसार बाटो बन्द हुँदा आधार शिविरमा भीड बढेको छ र आरोहण अभियान अनिश्चित बनेको छ । उनले ढिस्को हटाउने वा फुटाउने प्रयास भए पनि हालसम्म सफल हुन नसकेको बताए ।
पर्यटन विभागका अनुसार यस वर्ष ४ सयभन्दा बढीलाई सगरमाथा आरोहण अनुमति दिइएको छ । गाइड तथा सहयोगीसहित करिब एक हजारभन्दा बढी सदस्यहरू आरोहण दलमा छन् ।
विशेषज्ञहरूका अनुसार करिब १०० मिटर अग्लो ढिस्को पग्लिन अझै केही दिन लाग्ने देखिएको छ । वैकल्पिक बाटो खोज्ने प्रयास भइरहे पनि सुरक्षित विकल्प नभएकाले केही दिन पर्खनु नै उचित हुने सुझाव दिइएको छ ।
एसपीसीसीका अध्यक्ष छिरिङ लामाले जोखिम मोलेर घुमाउरो बाटो प्रयोग गर्नु भन्दा ढिस्को पग्लिएपछि मात्र आरोहण अघि बढाउनु उपयुक्त हुने बताएका छन् ।
ढिस्कोका कारण ‘रोप फिक्सिङ’ प्रक्रिया अवरुद्ध हुँदा आरोहण अभियान नै रोकिएको छ । अनुभवी आरोहीहरूले सुरक्षित वातावरणका लागि धैर्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
हिउँको ढिस्कोले सगरमाथा आरोहण अवरुद्ध, आधार शिविरमै रोकिए हजारौं आरोही






