काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत छैटौँ खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ। जवाफमा लक्ष्य पछ्याइरहेको कर्णालीले पावरप्लेको समाप्तिसम्म ४ विकेट गुमाएर ५४ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। यो एनपीएलको तेस्रो संस्करणमा हालसम्म बनेको सबैभन्दा ठूलो स्कोर हो।

ADVERTISEMENT

विराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक ८७ रन बनाए। उनले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार गरे। लोकेशले एन्जेलो म्याथ्यूससँग चौथो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। म्याथ्यूसले २३ बलमा ४ चौकासहित ३१ रन बनाए।

ADVERTISEMENT

त्यस्तै, आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्कासहित २७ रन जोडे। वसिर अहमदले १३ रन बनाए। कर्णालीका कप्तान सोमपाल कामीले ४ विकेट लिए भने मार्क वाट र नन्दन यादवले १–१ विकेट हात पारे।

१८७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले सुरुवातमै महत्वपूर्ण विकेट गुमाएको छ। मार्क वाट १ रनमा बोल्ड भए भने आरिफूल इस्लाम ३२ रन बनाएर आउट भए। उनले १२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। हुसैन तलात खाता नखोली आउट हुँदा दीपक डुम्रेले ११ बलमा २० रन बनाएर विकेट गुमाए।

कर्णालीका लागि पवन सर्राफ र अकबर अली क्रिजमा रहेका छन्। विराटनगरका एन्जेलो म्याथ्यूसले ३ तथा चारिथ असलंकाले १ विकेट लिएका छन्।

कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो। विराटनगर भने पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो। आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो।