काठमाडौं । नेपाली नागरिकले अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ र सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार यस्तो व्यवस्था गरिएको हो।
यससम्बन्धी परिपत्र गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै आगलागी वा पानीले भिजेर नागरिकता नष्ट भएमा, च्यातिएर काम नलाग्ने भएमा, हराएमा वा अन्य कारणले प्रतिलिपि आवश्यक परेमा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सकिने जनाएको छ।
काठमाडौं उपत्यकामा सेवाग्राहीको चाप व्यवस्थापन गर्न तीन जिल्ला प्रशासन कार्यालयबाट प्रदेशअनुसार सेवा दिने व्यवस्था मिलाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकलाई सेवा दिनेछ। ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुरबाट कोशी र मधेस प्रदेशका नागरिकले सेवा लिन सक्नेछन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार प्रतिलिपिका लागि निवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको विवरणसँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिनेछ।
तर, अभिलेख नमिलेमा, पुरानो नागरिकतामा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण राखेर प्रतिलिपि लिन खोजेमा अथवा नागरिकता शङ्कास्पद देखिएमा सम्बन्धित व्यक्तिले नागरिकता लिएको पुरानै जिल्लामा सम्पर्क गर्नुपर्नेछ।








