काठमाडौं । निर्वाचन आयोगले मृत्यु भएका, दोहोरो नाम परेका, नाम रद्द भएका तथा नागरिकता त्यागेका गरी २ लाख ३ हजार ५८६ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ ।

आयोगका अनुसार हटाइएकामध्ये ४५ हजार ३२२ जना मृत्यु भएका मतदाता हुन् । बाँकी १ लाख ५८ हजार २६४ जनाको नाम दोहोरो परेको, रद्द भएको वा नागरिकता त्यागेकोलगायतका कारणले हटाइएको हो ।

ADVERTISEMENT

मतदाता नामावलीबाट नाम हटाइएकामध्ये झापा, मोरङ, सप्तरी र कैलालीलगायत जिल्लाका मतदाता धेरै छन् । मोरङमा मृत्यु भएका ६१० र दोहोरो नाम परेको, रद्द भएको वा त्याग गरेको आधारमा ९ हजार ५२१ जनाको नाम हटाइएको छ ।

ADVERTISEMENT

झापामा मृत्यु भएका ८३४ र अन्य कारणले ६ हजार १८८ जनाको नाम हटाइएको छ । सुनसरीमा मृत्यु भएका ७९८ र अन्य कारणले ४ हजार ७६२ जनाको नाम हटेको छ ।

सप्तरीमा मृत्यु भएका ६ हजार ३०१ र अन्य कारणले ४ हजार ८७ जनाको नाम हटाइएको छ । धनुषामा मृत्यु भएका ३६९ र अन्य कारणले ४ हजार ४४८ जनाको नाम हटेको छ भने रौतहटमा मृत्यु भएका २ हजार ५१४ र अन्य कारणले ४ हजार १५१ जनाको नाम हटाइएको छ ।

त्यस्तै, पाल्पामा मृत्यु भएका ३ हजार ४४ र अन्य कारणले १ हजार ६८५ जनाको नाम हटाइएको छ । रुपन्देहीमा मृत्यु भएका १८१ र अन्य कारणले ४ हजार ३६१ जनाको नाम हटेको छ । कैलालीमा मृत्यु भएका १ हजार ३९ र अन्य कारणले ६ हजार ५२५ जनाको नाम हटाइएको आयोगले जनाएको छ ।

२१ फागुन २०८२ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए । नामावली अद्यावधिक गर्ने क्रममा नयाँ मतदाताको नाम पनि थपिएको छ । आयोगका अनुसार गत भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र नयाँ नाम दर्ता गराएका १ लाख ८७ हजार ६८६ जना मतदाता नामावलीमा थपिएका छन् ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीस्वरूप मतदाता नामावली अद्यावधिक गरिरहेको छ ।

उनका अनुसार निर्वाचनको तयारी, निर्वाचन सञ्चालन र निर्वाचनपछिका काम गरी तीन चरणमा आयोगले आफ्नो जिम्मेवारी पूरा गर्छ । अहिले निर्वाचनअघिको तयारीअन्तर्गत मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ ।

आयोगले आगामी स्थानीय तह निर्वाचनअघि मतदाताको राष्ट्रिय परिचयपत्र नम्बर र मोबाइल नम्बरसमेत अद्यावधिक गर्ने तयारी गरेको छ । हाल नयाँ नाम दर्ता गराएका मतदाताको विवरणमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश भए पनि पहिले नै नाम दर्ता गराएका मतदाताको विवरणमा उक्त नम्बर समावेश नभएको आयोगले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण समावेश गर्न आयोगले सम्बन्धित निकायसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेको छ ।