काठमाडौँ । निर्वाचन आयोगमा सोमबार सम्म पुराना र नयाँ गरी १ सय २३ राजनीतिक दल दर्ता भएका छन् । अझै २९ नयाँ दल दर्ताको निवेदन विचाराधीन रहेको आयोगले जनाएको छ । चुनावमा भाग लिन आयोगमा दर्ता रहेका पुराना वा नयाँ थपिने दलले पुनः दर्ता हुनुपर्छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने उद्देश्यले हिजो १२ वटा राजनीतिक दलले निर्वाचन आयोगमा पुनः दल दर्ताका लागि निवेदन दिएका छन् । पुनः दल दर्ताको लागि आयोगले आगामी १० गतेसम्मको समय तोकेको छ ।

आयोगमा दर्ता रहेका दलमध्ये चुनावमा भाग लिने उद्देश्यले पुनः दल दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । हिजो नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, मंगोल नेसनल अर्गजनाइसेजन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी र नेपाल मानवतावादी पार्टीले दल दर्ताको लागि निवेदन दिएका छन् ।

ADVERTISEMENT

यसैबीच जैविक तथ्याँक अर्थात बायोमेट्रिकका लागि राष्ट्रिय परिचयपत्रसँग लिंक गरिएपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको छ । अस्तिसम्म ५ लाख २७ हजारभन्दा धेरै नयाँ मतदाता थपिएको आयोगले जनाएको छ । गएको कात्तिक २७ गतेदेखि मतदाता नामावलीका लागि राष्ट्रिय परिचयपत्रसँग लिंक जोडिएको हो । त्यसयता २ लाख २५ हजारभन्दा धेरै मतदाता अनलाइन प्रविधिको प्रयोगबाट थपिएका छन् ।

ADVERTISEMENT

यस्तै अनलाइनबाट व्यक्तिगत फारम भरेर निर्वाचन कार्यालयमा पुगेर बायोमेट्रिक दिने माध्यमबाट ३ लाखभन्दा धेरै नयाँ मतदाता थपिएका आयोगले जनाएको छ । आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन यही ५ गते शुक्रबारसम्मको समय तोकेको छ ।