काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभावले आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। प्रारम्भिक आकलनअनुसार २९ जिल्लामा वर्षाको प्रभाव बढी पर्न सक्ने र केही स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलको विश्लेषणअनुसार कात्तिक १२ देखि १५ गतेसम्म केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी देखिन सक्ने अनुमान छ।
भारतको आन्ध्र प्रदेश आसपास विकसित भइरहेको मौसमी प्रणाली नेपालतर्फ अघि बढ्ने क्रममा बिहीबार रातिदेखि वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान गरिएको छ। दक्षिण भारतमा सक्रिय उत्तरपूर्वी मनसुन र पश्चिमी वायुको समेत प्रभाव रहेकाले वर्षाको सम्भावना थप बढ्न सक्ने डा. पोखरेलले बताएका छन्।
यद्यपि, यो प्रारम्भिक आकलन भएकाले मौसमी प्रणालीको मार्ग, वर्षाको मात्रा र बढी प्रभावित हुने जिल्लाहरू परिवर्तन हुन सक्ने उनले स्पष्ट पारेका छन्।
तराईमा डुबान, पहाडमा पहिरोको जोखिम
सम्भावित वर्षाका कारण तराईका जिल्लामा डुबान, पहाडी क्षेत्रमा पहिरो र हिमाली क्षेत्रमा हिमपातको जोखिम हुन सक्ने मौसमविद्ले बताएका छन्। मनाङसहित हिमाली क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बंगालको खाडीबाट विकसित प्रणाली भारतको ओडिशा र बिहार हुँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावना छ। यसले पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा गराउन सक्ने तथा हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने उनको भनाइ छ।
धान नकाट्न र लामो दूरीको यात्रा नगर्न सुझाव
मौसमविद् डा. उप्रेती र उज्ज्वल उपाध्यायले सम्भावित खराब मौसमलाई ध्यानमा राख्दै बिहीबारदेखि शनिबारसम्म लामो दूरीको यात्रा नगर्न, हिमाली क्षेत्रमा पदयात्रा नगर्न तथा धान काट्ने र भित्र्याउने काम स्थगित गर्न सुझाव दिएका छन्।
विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा थप सावधानी अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान प्रारम्भिक चरणमा रहेकाले वर्षाको अवस्था र जोखिम क्षेत्रबारे मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने पछिल्लो सूचनालाई ध्यान दिन आवश्यक छ।









