काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको सरकारले जनताको अपेक्षाअनुसार परिणाम दिन नसकेको भन्दै राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गरेका छन् ।
शनिबार अभियानको उद्घाटन गर्दै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा गर्न तथा महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाउन आम नागरिकलाई आह्वान गरेका हुन् । उनले निरंकुशता र अराजकताको विरोधमा एकजुट हुनसमेत आग्रह गरे ।
देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक सङ्कटबाट गुज्रिरहेको उल्लेख गर्दै प्रचण्डले ठूलो आशा र अपेक्षासहित गठन भएको दुई तिहाइको सरकारले जनताको अपेक्षाअनुसार परिणाम दिन नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढेको बताए ।
उनका अनुसार महँगीका कारण जनजीवन कष्टकर बनेको छ भने बेरोजगारी र युवा पलायन बढिरहेको छ । किसान, मजदुर, उद्यमी तथा व्यवसायीले समेत विभिन्न कठिनाइ भोगिरहेको र जनजीविकाका आधारभूत प्रश्न थप जटिल बन्दै गएको उनको भनाइ छ ।
प्रचण्डले विगतका कामको इमानदारीपूर्वक समीक्षा गर्दै आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचना गर्नुपर्नेमा पनि जोड दिए । जनताको विश्वास र भरोसा बलियो बनाउँदै सुशासन, सामाजिक न्याय, समृद्धि तथा सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाइएका कामलाई निरन्तरता दिनुपर्ने उनले बताए ।
अभियानमार्फत जनताका समस्या स्थानीय, प्रदेश र सङ्घीय तहका सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि निरन्तर पहल गरिने प्रचण्डले जानकारी दिए ।
उनका अनुसार जनताका गुनासा अभिलेखबद्ध गर्ने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि भएका प्रयासको प्रगतिबारे नागरिकलाई जानकारी दिने अभ्याससमेत अघि बढाइनेछ ।
‘हाम्रो उद्देश्य जनताका समस्या सुनेर फर्कनु मात्र होइन, समाधानका सम्भावना पहिचान गर्नु र त्यसका लागि जिम्मेवारीपूर्वक पहल गर्नु हो,’ प्रचण्डले भने ।
नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
अभियानको उद्घाटन समारोहमा पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।










