काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा बिहीबार सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदैछिन्। दिउँसो भण्डारीको सचिवालय उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रममा भण्डारीका साथै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी हुनेछन्।

प्रधानमन्त्री केपी ओलीलाई सचिवालय उदघाटन गर्न निम्तो दिइए पनि उनले अस्वीकार गरेका छन् । ओली दुई दिनदेखि अस्वस्थ रहेकाले चिकित्सकले आराम गर्न सल्लाह दिएका छन् ।

ADVERTISEMENT

काठमाडौं महानगरका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर भण्डारीले मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समितिको कार्यालय प्रयोजनका लागि भन्दै सचिवालय खोल्न लागेकी हुन्। उनले त्यही घरबाट राजनीतिक गतिविधि गर्ने उनीनिकट एमालेका नेताहरू बताउँछन्।

भण्डारीलाई एमाले केन्द्रीय कमिटीले राजनीतिमा आउन रोक्ने निर्णय गरे पनि भण्डारी एमाले पूर्वउपाध्यक्षको हैसियतमा राजनीतिक गतिविधिमा व्यस्त छिन्।

ADVERTISEMENT

गत असार १४ गते मदन भण्डारीको ७४औं जन्मजयन्तीका दिन पनि पोखरेलले बोलेका थिए। सोही दिन भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन्। उनले आफ्नो सदस्यता नवीकरण भएको बताएकी थिइन्। तर एमाले केन्द्रीय कमिटी बैठकले उनलाई राजनीतिमा फर्कन रोक लगाएसँगै सदस्यता स्वतः नवीकरण नभएको बताउने गरेको छ।

भण्डारी राजनीतिमा सक्रिय हुने सिलसिलाका क्रममा सोमबार र मंगलबार कोशी प्रदेशको विराटनगर पुगेर आएकी थिइन् । एमाले नेतृत्वको घेराबन्दीका बाबजुद पनि भण्डारीलाई पार्टीका नेता र कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।