गोरखा । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखामा ठूलो क्षति पुर्याएको छ। बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल गरी छवटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ।
बाढीले माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।
बाढीका कारण चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगरका करिब ३५ वटा घर बगाएको प्रारम्भिक विवरण छ। यसबाहेक जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत क्षति पुगेको छ।
बाढीपछि कम्तीमा १० जना सम्पर्कविहीन भएको विवरण प्राप्त भए पनि उनीहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी छ। प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
बाढीले पुल तथा बस्तीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको आवागमनसमेत प्रभावित भएको छ। स्थानीय बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त नदी किनार तथा बस्तीबाट सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा बाढीबाट भएको क्षतिको थप विवरण प्राप्त हुन बाँकी छ।







