काठमाडौं । रसुवा–त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीले ४५ लाख ९७ हजार रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
बैंकका कर्मचारीले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका समुदायलाई राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरिएको बैंकले जनाएको छ। उक्त रकम कोषमार्फत प्रभावित समुदायका लागि सञ्चालन हुने कार्यक्रमहरूमा उपयोग हुने विश्वास बैंकले लिएको छ।
कुमारी बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। कर्मचारीहरूको योगदानले मानवीय संवेदना, सामाजिक एकता र राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप बलियो बनाउने बैंकको विश्वास छ।
यसअघि पनि बैंकले त्रिशूली–भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको थियो।
त्यस्तै, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायत विपद् व्यवस्थापन सामग्री उपलब्ध गराएको थियो।







