काठमाडौं । कुमारी बैंकले दिगो बैंकिङ अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनसंग रणनीतिक परियोजना सम्झौता गरेको छ ।
जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशहरूमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थितिकीय रूपान्तरण अभियानअन्तर्गत यो साझेदारी गरिएको हो ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन् ।
दिगो बैंकिङका लागि दुई चरणको खाकामा हरित बैंकिङ अभ्यासहरूलाई संस्थागत र विस्तार गर्न यो साझेदारीलाई दुई क्रमिक चरणहरूमा विभाजन गरिएको छ ।
यो सम्झौता कुमारी बैंकका लागि दिगो बैंकिङ अभ्यासको परिपक्वतातर्फको एउटा निर्णायक कदम भएको कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले बताए ।
साझेदार संस्थाको प्राविधिक सहयोग र नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनमा बैंकले आफ्ना बैंकिङ परिपाटीहरुलाई क्रमिक रुपमा अन्तर्राष्ट्रिय अनुभव तथा अभ्यासहरूसमेतका आधारमा परिस्कृत तथा परिमार्जन गर्दैै हरित वित्त, न्यूनकार्बन उत्सजर्न अनि दिगो तथा उत्थानशील उद्यमशिलता प्रर्वद्धनमा समेत टेवा पुग्ने अपेक्षा राखेको छ ।
सम्झौताअनुसार डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनले आफ्ना स्वामित्वमा रहेका विशेष प्राविधिक पद्धतिहरू जस्त इसजी रिस्क राडर र सस्टेनेबल फाइनान्स कम्पास आदि उपलब्ध गराई प्राविधिक सहयोग पु¥याउनेछ । यसका साथै, ग्रामीण क्षेत्र र साना तथा मझौला उद्योगहरूको सवलीकरण र हरित उद्यम क्षमता अभिवृद्धि गर्न डिस्क ब्युजनेस गेम पनि सञ्चालन गरिनेछ ।
हाल कुमारी बैंकले आफ्ना २८६ शाखा, ३०३ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ्ग एकाई र १,१०० भन्दा बढी पीओएस टर्मिनल सहितको वृहत सञ्जाल र अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।






