काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले सात अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०५.९६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १४.५५ प्रतिशत बढेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकले एक अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गर्न सफल भएको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा १०१.०९ प्रतिशत बढेको छ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ २ पैसा रहेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २१ रुपैयाँ २३ पैसा बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७.४५ गुणा रहेको छ।
असार मसान्तसम्ममा बैंकले ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।






