काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ ।
बुधबार महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी थियो । तर, अचानक आएको हावाहुरीसहितको ठूलो वर्षाका कारण बन्द सत्र सञ्चालन प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
बन्द सत्र बिहान साढे १० बजेदेखि सुरु गर्ने कार्यतालिका थियो । पछि खाजा समयपछि सत्र सञ्चालन गर्ने गरी साढे ११ बजेदेखि सुरु गर्ने तयारी गरिएको थियो । तर, त्यसैबीच मौसम बिग्रिएर हावाहुरीसहित ठूलो वर्षा भएपछि कार्यक्रम प्रभावित भएको हो ।
कांग्रेसले महाधिवेशनको बन्द सत्र खुलामञ्चमा सञ्चालन गर्दै आएको छ । वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू खुलामञ्चमा आउन नसकेपछि सत्र सञ्चालनमा समस्या भएको हो ।
महाधिवेशनका क्रममा भृकुटीमण्डपमा खाना तथा अन्य व्यवस्थापन गरिएको छ भने राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले निर्वाचनसम्बन्धी काम गरिरहेको छ ।
कांग्रेसले बिहीबार बिहान मतदान गर्ने तयारी गरेको छ । बन्द सत्रबाट प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी रहेको छ ।







