काठमाडौँ । विनोद चौधरीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
उनले आफ्नो उम्मेदवारीलाई युवा नेतृत्व स्थापित गर्ने, आर्थिक विकासलाई राजनीतिको केन्द्रमा राख्ने र कांग्रेसलाई आधुनिक तथा प्रविधिमैत्री पार्टीका रूपमा रूपान्तरण गर्ने एजेन्डासँग जोडेर व्याख्या गरेका छन्।
चौधरीले उम्मेदवारीका पछाडि अघि सारेका मुख्य कारणहरू यस्ता छन् :
- निराशातर्फ बढिरहेको नेपाली समाजमा नयाँ आशा र विश्वास सिर्जना गर्ने।
- नेपाली कांग्रेसको नेतृत्वमा युवा नेतालाई स्थापित गर्ने।
- राजनीतिक स्वतन्त्रताको नेतृत्व गरेको कांग्रेसलाई आर्थिक क्रान्तिको नेतृत्व गर्ने पार्टीका रूपमा स्थापित गर्ने।
- राजनीति र अर्थनीतिलाई सँगसँगै अघि बढाउने।
- बीपी कोइरालाको राजनीतिक सोच र सुवर्णशमशेर जबराको आर्थिक विकास नीतिलाई संयोजन गर्ने।
- सभापति गगनकुमार थापाको ‘समुन्नत नेपाल’ निर्माणको सोचलाई कार्यान्वयन गर्ने।
- २०४८ सालदेखि सुरु भएको आर्थिक सुधारलाई वर्तमान आवश्यकताअनुसार तीव्र गतिमा अघि बढाउने।
- कांग्रेसलाई विश्व परिवेशअनुकूल आधुनिक र प्रविधियुक्त पार्टी बनाउने।
- युवालाई सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्ससँग जोड्दै डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउने।
- जेन–जी आन्दोलनको मर्म आत्मसात् गर्दै युवाका आकांक्षालाई सम्बोधन गर्ने।
- राजनीतिको केन्द्रमा आर्थिक विकासका एजेन्डा स्थापित गर्ने।
- समावेशी विकास र तीव्र आर्थिक वृद्धिमार्फत आर्थिक विकासलाई कांग्रेसको मुख्य प्राथमिकता बनाउने।
- युवाका लागि पर्याप्त स्टार्टअप अवसर सिर्जना गर्ने।
- आन्तरिक लगानीकर्तालाई अवरोधरहित लगानीको वातावरण तयार गर्ने।
- भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्ने।
- नेपाललाई प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण केन्द्र बनाउने।
- हरेक वर्ष रोजगारी बजारमा आउने करिब साढे पाँच लाख युवाका लागि देशमै रोजगारी सिर्जना गर्ने दिशामा काम गर्ने।
- प्रदेश र स्थानीय तहमा उद्योग तथा रोजगारी विस्तार गरी क्षेत्रीय आर्थिक असमानता घटाउने।
- सीमान्तकृत तथा पिछडिएका समुदायलाई उद्यमशीलता, सीप र वित्तीय पहुँचमार्फत आर्थिक अवसरमा जोड्ने।
- पुस्तान्तरण, पुस्ताबीच सहकार्य तथा अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जालाई जोडेर आधुनिक कांग्रेस निर्माण गर्ने।
चौधरीले आफ्नो उम्मेदवारी पदका लागि मात्र नभई आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउने र कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने संकल्पका रूपमा प्रस्तुत गरेका छन्।






