काठमाडौं । कुमारी बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त तथा उद्यम विकास प्रवद्र्धनका लागि साझेदारी भएको छ।
महिला नेतृत्वका व्यवसाय तथा उद्यमलाई आवश्यक वित्तीय तथा व्यावसायिक सहयोग उपलब्ध गराउने उद्देश्यले दुवै संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार अधिकृत चन्दन कार्की र महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष दर्शना श्रेष्ठले हस्ताक्षर गरेका छन्।
साझेदारीअन्तर्गत महिला उद्यमीहरूको जिम्मेवार वित्तमा पहुँच, उद्यम विकास, दिगो तथा जलवायु उत्थानशील लगानी, डिजिटल समाधान, बजारका अवसर तथा मूल्य शृङ्खलासँगको आबद्धता विस्तारमा विशेष ध्यान दिइनेछ।
महिला नेतृत्वका उद्यमले सामना गरिरहेका वित्तीय चुनौती सम्बोधन गर्न नगद प्रवाहमा आधारित कर्जा मूल्याङ्कन, चल सम्पत्तिमा आधारित वित्तीय सुविधा, प्रत्याभूति तथा अन्य जोखिम साझेदारी संयन्त्रजस्ता नवीन वित्तीय उपायको सम्भावनासमेत खोजी गरिने बैंकले जनाएको छ।
कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले साझेदारीले महिला उद्यमीको वित्त, बजार तथा ज्ञानमा पहुँच विस्तार गर्ने बताए। महिला उद्यमी महासंघको सञ्जाल र बैंकको दिगो बैंकिङ क्षमतालाई एकीकृत गर्दै महिला नेतृत्वका व्यवसायलाई थप वित्तीय रूपमा सक्षम, उत्थानशील र वृद्धि–उन्मुख बनाउन सहयोग गर्ने उनको भनाइ छ।
साझेदारीअन्तर्गत संयुक्त सिकाइ, प्रभाव मापन तथा सरोकारवालासँगको संलग्नताका लागि आवश्यक संयन्त्र विकास गरिनेछ। उद्यम वृद्धि, वित्तमा पहुँच, व्यावसायिक उत्थानशीलता, रोजगारी सिर्जना तथा दिगो व्यवसायिक अभ्यासलाई सहकार्यका प्रमुख क्षेत्र बनाइनेछ।
कुमारी बैंकले ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमार्फत दीर्घकालीन आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको जनाएको छ। महिला उद्यमी महासंघसँगको सहकार्यबाट वित्तीय रूपमा सक्षम हरित उद्यम, सुदृढ मूल्य शृङ्खला, रोजगारीका अवसर तथा जलवायुमैत्री आर्थिक गतिविधि विस्तारमा योगदान गर्ने बैंकको लक्ष्य छ।
बैंकका अनुसार हाल कुमारी बैंकका २७९ शाखा, ४१ एक्सटेन्सन काउन्टर, २९४ एटीएम, ४० शाखारहित बैंकिङ इकाइ तथा १,२०० भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा छन्।







