काठमाडौँ । दसैंमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा यातायात व्यवस्था विभागले आज यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ।

विभागको सभा हलमा बिहान ११ बजे हुने छलफलमा अग्रिम टिकट बुकिङको मिति, यात्रुको चाप व्यवस्थापन तथा यातायात सञ्चालनका विषयमा छलफल हुने बताइएको छ।

ADVERTISEMENT

छलफलका लागि विभागले प्रहरी प्रधान कार्यालयको राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, विभिन्न यातायात मजदुर संगठन, नेपाल ट्रक यातायात व्यवसायी संघ र ल्होत्से बहुउद्देश्यीय सहकारी संघका प्रतिनिधिलाई बोलाएको छ।

ADVERTISEMENT

दसैं नजिकिँदै गए पनि अग्रिम टिकट बुकिङ नखुल्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रु अन्योलमा छन्। केही यातायात कम्पनीले भने अनलाइनमार्फत टिकट बुकिङ सुरु गरिसकेका छन्। यसले यात्रुमा थप अन्योल सिर्जना गरेको छ।

दसैंका बेला टिकट नपाउने, बसपार्कमा लामो लाइन लाग्नुपर्ने र सहज रूपमा घर जान नपाउने समस्या विगतमा पनि देखिँदै आएको छ। त्यसलाई व्यवस्थित गर्ने विषयमा समेत आजको छलफल केन्द्रित हुने विभागले जनाएको छ।

ADVERTISEMENT

यस वर्ष दसैंको अवधिमा मात्रै काठमाडौं उपत्यकाबाट १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको चापलाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङ, सवारी साधनको व्यवस्थापन र सडक सुरक्षालाई प्राथमिकतामा राखेर तयारी अघि बढाउने विभागको तयारी छ।