काठमाडौं । दशैंमा घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको छ। टिकट पाउने आशमा यात्रुहरू गएरातिदेखि नै काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन्।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने यात्रुहरू बिहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए।
दशैंको समयमा यात्रुको चाप बढ्ने भएकाले लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा टिकट काउन्टर थप गरेको जनाएको छ। यात्रुको सहजताका लागि आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको कम्पनीले जनाएको छ।
दशैंमा काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको हो। यात्रुले समयमै टिकट लिएर यात्रा व्यवस्थापन गर्न सक्ने अपेक्षा गरिएको छ।







