काठमाडौँ, असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने महाधिवेशनमा स्वदेश तथा विदेशबाट सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।
महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता देवराज चालिसेले प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी रहेको र पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता भइरहेको जानकारी दिए।
उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गर्नेछन्। प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई तीन समूहमा विभाजन गरी तीन फरक हलमा छलफल गराउने तयारी छ।
छलफललाई प्रविधिमैत्री बनाउन प्रत्येक हलमा डिजिटल बोर्डको व्यवस्था गरिएको छ। त्यसबाट प्रतिनिधिले प्रस्तुत प्रतिवेदन हेर्न र सुन्न सक्नेछन्।
महाधिवेशन निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ। उम्मेदवारी मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ। निर्वाचन कार्यक्रम आवश्यकता अनुसार परिमार्जन हुन सक्ने निर्वाचन समितिले जनाएको छ।
महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताका लागि तीन हजार पाँच सय रुपैयाँ बुझाउनुपर्नेछ। आवास व्यवस्थापन समितिले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर प्रतिनिधिको बसोबास व्यवस्थापनमा समन्वय गरिरहेको छ। आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ।
कांग्रेस महाधिवेशनको इतिहास
नेपाली कांग्रेसको राजनीतिक यात्रामा महाधिवेशनले नेतृत्व चयनसँगै पार्टीको नीति र दिशासमेत तय गर्दै आएको छ। पार्टी स्थापनादेखि हालसम्म कांग्रेसले विभिन्न चरणमा महाधिवेशन तथा विशेष महाधिवेशन गर्दै आएको छ।
- पार्टी स्थापना: २००३ कात्तिक १५, बनारस, भारत — संयोजक विश्वेश्वरप्रसाद कोइराला
- पहिलो महाधिवेशन: २००३ माघ १२–१३, भवानीपुर, कोलकाता — सभापति टङ्कप्रसाद आचार्य
- दोस्रो: २००४ माघ २०–२२, बनारस — सभापति विश्वेश्वरप्रसाद कोइराला
- तेस्रो: २००५ फागुन १८, दरभङ्गा, बिहार — सभापति मातृकाप्रसाद कोइराला
- चौथो: २००६ चैत २७, कोलकाता — सभापति मातृकाप्रसाद कोइराला
- पाँचौँ: २००९ जेठ १०–१२, जनकपुर — सभापति विश्वेश्वरप्रसाद कोइराला
- छैटौँ: २०१२ माघ, वीरगन्ज — सभापति सुवर्णशमशेर जबरा
- विशेष महाधिवेशन: २०१४ जेठ, विराटनगर — सभापति विश्वेश्वरप्रसाद कोइराला
- सातौँ: २०१७ वैशाख २५–३१, काठमाडौँ — सभापति विश्वेश्वरप्रसाद कोइराला
- आठौँ: २०४८ फागुन १–३, झापा — सभापति कृष्णप्रसाद भट्टराई
- नवौँ: २०५३ वैशाख २६–२८, काठमाडौँ — सभापति गिरिजाप्रसाद कोइराला
- दसौँ: २०५७ माघ ९, पोखरा — सभापति गिरिजाप्रसाद कोइराला
- एघारौँ: २०६२ भदौ १४–१७, काठमाडौँ — सभापति गिरिजाप्रसाद कोइराला
- बाह्रौँ: २०६७ असोज १–५, काठमाडौँ — सभापति सुशील कोइराला
- तेह्रौँ: २०७२ फागुन २०–२३, काठमाडौँ — सभापति शेरबहादुर देउवा
- चौधौँ: २०७८ मङ्सिर २४–२७, काठमाडौँ — सभापति शेरबहादुर देउवा
- विशेष महाधिवेशन: २०८२ पुस २७, काठमाडौँ — सभापति गगनकुमार थापा







