काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा केवल परीक्षामा राम्रो नतिजा हासिल गर्ने वा प्रमाणपत्र प्राप्त गर्ने माध्यममा सीमित हुन नहुने बताएका छन्।

शिक्षाले व्यक्तिमा ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोध विकास गर्दै समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउनुपर्ने उनको भनाइ छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य व्यक्तिको समग्र विकास गर्नु रहेको बताए।

ADVERTISEMENT

‘शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन,’ उनले भने, ‘शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो।’

ADVERTISEMENT

शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउनुपर्नेमा उनले जोड दिए।

राष्ट्रपति पौडेलले नेपाल विविध भाषा, संस्कृति, परम्परा र जीवनपद्धतिले समृद्ध देश भएको उल्लेख गर्दै शैक्षिक प्रणालीले यस विविधतालाई सम्मान गर्न सक्ने विद्यार्थी तयार गर्नुपर्ने बताए।

ADVERTISEMENT

‘हामीले दिने शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्दछ,’ उनले भने।

प्रविधिसँगै मानवीय मूल्यमा जोड

राष्ट्रपति पौडेलले समय परिवर्तनशील रहे पनि परिवर्तनसँगै आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेको बताए।

सूचना प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा कस्तो राष्ट्र निर्माण गर्ने र भविष्यका लागि कस्तो जनशक्ति आवश्यक पर्ने भन्ने प्रश्नको उत्तर पनि नेपालको शैक्षिक प्रणालीमै खोजिनुपर्ने उनको भनाइ थियो।

त्यसका लागि प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुसार पाठ्यक्रम र पठनपाठनमा सुधार गर्नुपर्ने उनले बताए।

राष्ट्रपति पौडेलले बदलिँदो आवश्यकता र प्रविधिको विकासअनुसार शिक्षालाई समयसापेक्ष बनाउँदै विद्यार्थीलाई ज्ञानसँगै जिम्मेवारी, सामाजिक सद्भाव र राष्ट्रिय चेतनासहित अघि बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।