काठमाडौं । नेपाली कांग्रेसले १५औँ राष्ट्रिय महाधिवेशनलाई नेतृत्व चयनमा मात्रै सीमित नराखी ‘नीति चयन’को अधिवेशनका रूपमा अघि बढाउने प्रयास गरिएको जनाएको छ।
महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार काठमाडौंको खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनबाट पार्टीको आगामी नीति, कार्यक्रम र राजनीतिक दिशाबारे समेत छलफल गर्ने तयारी भइरहेको बताए।
उनका अनुसार महाधिवेशनलाई नेता चयन गर्ने प्रक्रियामा मात्र सीमित नगरी नीति तथा कार्यक्रम तय गर्ने थलोका रूपमा अघि बढाउँदा पार्टीलाई संस्थागत र सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रवक्ता चालिसेले उम्मेदवारी मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकाय अर्थात् महाधिवेशन हलले विधान संशोधन प्रस्तावमाथि छलफल गरी निर्णय गर्ने बताए। विधान संशोधन समितिले तयार पारेको तथा केन्द्रीय समितिले छलफल गरेर ल्याएको प्रस्तावअनुसार पद थप्ने, घटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हलमै रहने उनको भनाइ थियो।
विधान संशोधनमा पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउने विषयमा समेत सुझाव आएका छन्। विधान मस्यौदा समितिले प्राप्त सुझावमाथि छलफल गरी प्रस्ताव महाधिवेशनमा पेस गर्ने तयारी गरेको छ।
सोमबार उम्मेदवारी दर्ता
कांग्रेसका अनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ।
उम्मेदवारी दर्ता सुरु हुनुअघि नै विधान संशोधनसम्बन्धी निर्णय गरिसक्ने तयारी रहेको प्रवक्ता चालिसेले बताए। नेतृत्व चयन भने मतपत्रमार्फत निर्वाचनबाट हुने उनले स्पष्ट पारे।
आगामी पाँच वर्षको नीति प्रस्तुत हुने
आइतबार हुने उद्घाटन सत्रपछि सुरु हुने बन्दसत्रमा कांग्रेसको आगामी नीति, कार्यक्रम तथा विभिन्न समसामयिक प्रतिवेदन प्रस्तुत गरिने जनाएको छ।
बन्दसत्रमा सभापतिले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने प्रवक्ता चालिसेले जानकारी दिए।
यसपटकको महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको नीति र भावी राजनीतिक दिशामाथि पनि छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेसका नेताहरूले महाधिवेशनबाट नीतिगत सन्देश दिनुपर्ने विषयमा सार्वजनिक रूपमा जोड दिँदै आएका छन्।
प्रतिनिधिको रजिस्ट्रेसन जारी
महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको कांग्रेसले जनाएको छ। प्रतिनिधिका लागि ३ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ।
कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने र प्रतिनिधिहरूले उम्मेदवारलाई मत दिने व्यवस्था गरिएको छ।







