काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन्।

विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत् आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा विशेष ध्यान दिन निर्देशन दिएका हुन्।

ADVERTISEMENT

उनले प्राधिकरणको नेतृत्व उत्कृष्टताको आधारमा अघि बढिरहेको उल्लेख गर्दै विपद्का समयमा समेत विद्युत् सेवा पुनः सञ्चालन गर्न कर्मचारीले गरेको कामको प्रशंसा गरे। सेवा सुधारका प्रयास सकारात्मक भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो।

ADVERTISEMENT

मन्त्री श्रेष्ठले मौसमी खराबीका कारण विद्युत् अवरुद्ध हुने वा ट्रिपिङ हुँदा ग्राहकलाई समयमै सही सूचना प्रवाह गर्नुपर्ने बताए। वितरण कार्यालयहरूले विद्युत् समस्या देखिएपछि तत्काल सम्बोधन गर्दै नागरिकप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिए।

हेटौंडामा ४० मेगावाटसम्म विद्युत् माग

मन्त्री श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रबाट ४० मेगावाटसम्म विद्युत्को प्रारम्भिक माग आएको जानकारी दिँदै त्यसका लागि आवश्यक पूर्वतयारी गर्न निर्देशन दिए।

ADVERTISEMENT

औद्योगिक क्षेत्रमा विद्युत्को माग बढ्दै जाने भएकाले त्यसअनुसार वितरण प्रणाली तथा पूर्वाधारलाई तयार राख्नुपर्ने उनको भनाइ थियो। उनले विद्युत् बक्यौता असुलीमा समेत कडाइ गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे।

मन्त्री श्रेष्ठले हेटौंडा डिभिजन पूर्व–पश्चिम विद्युत् आदानप्रदानको प्रमुख हबका रूपमा विकास हुँदै गएको उल्लेख गरे। हेटौंडा नेपालको ऊर्जा प्रणालीको महत्वपूर्ण केन्द्र बन्दै गएकाले सोहीअनुसार संरचनागत तयारी गर्नुपर्ने उनले बताए।

विद्युत् उत्पादन बढ्दै गएसँगै प्रसारण तथा वितरण प्रणालीलाई पनि बलियो बनाउनुपर्नेमा ऊर्जा क्षेत्रको पछिल्लो नीतिगत जोड रहँदै आएको छ। सरकारले आगामी आर्थिक वर्षमा जलविद्युत् र सौर्य ऊर्जाबाट थप १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्यसमेत राखेको छ।