काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा भारी मतसहित विजयी भएका छन्।
भानु नगरपालिका–८, साविक पुर्कोट निवासी ढकाल लामो समयदेखि नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई आत्मसात् गर्दै आएका थिए। सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका उनी पछिल्लो समय सक्रिय राजनीतिमा समेत प्रवेश गरेका हुन्।
श्रमिक, युवा तथा आम नागरिकका आवाजलाई पार्टीको संगठन र राजनीतिक तहसम्म पुर्याउने उद्देश्यसहित राजनीतिमा सक्रिय भएको ढकालले बताएका छन्। देश तथा विदेशमा विभिन्न सांगीतिक कार्यक्रममार्फत परिचित ढकाल सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्।
ढकाल चर्चित लोकदोहोरी गायिका देवी घर्ती मगरका श्रीमान् हुन्। उनीहरू दुवैले लामो समयदेखि सांगीतिक क्षेत्रमा सहकार्य गर्दै आएका छन्।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि ढकालले पार्टी संगठनलाई थप मजबुत बनाउने, श्रमिक तथा युवाको सहभागिता बढाउने र समाजका विभिन्न क्षेत्रका आवाजलाई राजनीतिक नेतृत्वसम्म पुर्याउन सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।







